सूर्यदर्शन सहकारी पीडित मध्यकी एक हुन् रमजानी मिया । पोखरा–१३ घर भएकी मियाको दैनीकी श्रीमान्को स्यहार सुसारमा वित्छ । दुबै मृगौला फेल भएका श्रीमान्लाई हप्तामा तीन पटकसम्म डाइलासिस गर्नुपर्छ । त्यती मात्र हैन प्यारालाइसिसले श्रीमान् हिँडडुल गर्न सक्नुहुन्न । खुवाउने, उठाउने, सुताउने देखि दिशापिसाबसम्म गर्न नसक्ने अवस्थामा पुग्नुभएका श्रीमान् अली मोहमद बाक्या फुटाएर बोल्न पनि सक्नुहुन्न् ।
उहाँको घर पुग्दा रातभरी अक्सिजनको कमी भएर छटपटाएका श्रीमान्को स्याहारमा रमजानी व्यस्त हुनुहुन्थ्यो । दिउँसो डाइलासिसमा लैजानुपर्ने छ । डाक्टरले रगत बढाउने औषधि दिने भनेका रहेछन् त्यसका लागि पैसा र गाडीको जोहोमा उहाँ जुटिरहनु भएको थियो । नातेदारसँग ब्याजमा पैसा ल्याएर घर खर्च र उपचार गर्नुपरेको उहाँ सुनाउनु हुन्छ । चुरा बेचेर कमाएको सबै पैसा सूर्यदर्शन सहकारीमा डुबेपछि उहाँलाई दैनिक खर्च चलाउनै मुस्किल परेको छ ।
जीवनभर गरेको कमाई सहकारीमा नडुबेको भए अरुसँग हात फैलाउने अवस्था आउने थिएन । उहाँको जीवनभरको दुःखले कमाई गरेको ३५ लाख रुपैयाँ डुबेको छ । उहाँका छोराछोरी छैनन् । सहकारीमा बचत गरेको रकम डुबेको थाहा पाएपछि उहाँलाई उच्च रक्तचापका कारण प्यारालाइसिस भयो । लाखौँ रुपियाँ उपचारमा खर्च भयो । सहकारीको कारोबार ठिकठाक हुँदा बचत फिर्ता लिन पुगेका मिया दम्पतीले सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई भेटेर फर्किनुभएको थियो ।
रम्तेलले केही दिनपछि दिने भन्दै सम्झाएर पठाए । पुसमा बचत रकम लिन सहकारीको कार्यालय बागलुङ बसपार्क पुग्दा सटर बन्द भएको देखिपछि निराश हँुदै घर फर्किनुभएका अली मोहमद सोही दिन नै उच्च रक्तचापका कारण ढल्नु भयो । दैनिक बचत उठाउँदै सहकारीका बजार प्रतिनिधिले मिया परिवारलाई पनि बचत गर्न आग्रह गर्नुभएको थियो । उहाँले जानआउन दुःख नहुने भन्दै व्याज पनि घरमा नै ल्याइदिने लगायतका सुविधा दिने बताएका थिए । त्यसपछि दम्पतीले सल्लाह गरेर सहकारीमा कारोवार सुरु गरे । सूर्यदर्शन सहकारी स्थापना देखि नै उहाँले चुराको व्यापार गरेर कमाएको पैसा बचत गर्दै आउनु भएको थियो ।