काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चन्द्रागिरि डाँडामा परिवारसहित पुग्नुभएको छ ।

तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको भालेश्वर महादेवको दर्शन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भालेश्वर डाँडामा सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै काव्यिक भावमा पस्किए ।

“चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वोत्तम प्रेमकथा ! ’’

साथमै रहेका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाए । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुभयो, “सम्माननीयज्यू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ।”

राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गरेका छन् “म कवि÷साहित्यकार होइन।”

यसअघि ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नु भएको थियो ।

“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।”

त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेखेका अर्को कविताका अंश यस्ता थिए–

“कतै इतिहास, कतै परम्परा
गौरव कतै, कतै पौरख
यहीँ चन्द्रागिरिका डाँडाहरूतिर
सतिदेवी बोकेर काँधमा शोकमग्न शिवजी
यहीँ बाटो भौँतारिएका थिए
जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो
यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ
यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए ।

लोभिँदै नजर फ्याँकेर उपत्यकातिर
नजिकै फाखेलको गाउँमा देवकोटाले
मानवताको विगुल फुकेका थिए…।”

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरु अभिव्यक्त गर्नुभएको थियो । ओलीले लेखेका छन्, “काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरुलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फूर्सदले मनोरञ्जन लिइयो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय