काठमाडौं । ट्राफिक प्रहरीले लुकेर ‘चेकिङ’ गर्ने गरेको भनेर चौतर्फी आलोचनापछि ठाउँठाउँमा चेकिङका लागि सूचना राख्न थालेको छ । प्रहरीले अहिले रिङरोडको सातदोबाटो, बल्खु, कलंकी, कीर्तिपुरलगायत क्षेत्रमा सूचना बोर्ड नै राखेर चेकिङ थालेको छ ।
ट्राफिकले लुकेर जाँच गर्दा दुर्घटना बढेको भन्दै चौतर्फी विरोध हुन थालेपछि बोर्ड राखेर चेकिङ सुरु गरेको हो । सामाजिक सञ्जालमा झाडीमा लुकेर राडार गनले चेकिङ गरेको तस्वीर सार्वजनिक गर्दै त्यसरी चेकिङ नगर्न र व्यवस्थित ढंगले तत्काल सवारी व्यवस्थापन गर्न माग उठेको थियो ।
तर, अहिले चेकिङ गर्ने स्थानभन्दा अगाडि नै राडार गनसहितको सूचना बोर्ड राख्न थालिएको छ । बोर्डमा भनिएको छ,‘तपाई स्पिड गन क्यामेराको निगरानीमा हुनुहुन्छ, स्पिड लिमिट ५०’ बिजुलीका पोलहरूमा पनि उक्त सूचनासहित बोर्ड टाँस गरिएको छ ।