हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गर्दा नेपाली क्रिकेटको पप्रशंसा भएको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध विजय प्राप्त गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए। यस्तै नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका जिसीले मात्र २४ रन खर्चिए। यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे। उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए।
यसैगरी लोकेश बमले ३३ रन, विवेक यादव र रसिद खानले १२/१२ रन बनाए। अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए। यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल बी बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।