कास्की – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार म्याद थपका लागि कास्की प्रहरीले रविलाई अदालत लगेको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रविलाई तेस्रो पटक म्याद थपिएको हो । उहाँलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत लामिछानेलाई कात्तिक २ गते पक्राउ पछि पोखरा ल्याइएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।
यता लामिछानेको म्याद थपका लागि अदालत लैजादै गर्दा रास्वपाका कार्यकर्ता भने पोखरामा दिनभर जसो सडकमा प्रदर्शनमा उत्रिएका थिए । विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले दुई सेल अश्रुग्याँस हानेको हो । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । प्रहरीले प्रदर्शनमा अराजग गतिविधि गरेको भन्दै ८ जनालाई नियन्त्रणमा लिएको थियो । उपसभापति डिपी अर्याल लगायतका केन्द्रीय नेता पोखरा पुगेका छन् ।