जलेश्वर । मिथिलाञ्चलमा सामा चकेवा सुरु भएको छ । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको यो पर्व कार्तिक शुल्क पञ्चमीदेखि १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमाको राति समापन हुन्छ ।
१० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामाचकेवा खेल्ने गर्दछन् । आज बिहानै देखि मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामाचकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् ।
सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ । रंगीन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको छ । ११औँ दिनमा बिहानै पुनः सामा चकेवा बनाई, रंगरोगन गरी र दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाउँछन् । सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउने विधि छ ।
त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरुले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्व समापन हुनेछ । मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व बढी लोकप्रिय छ ।