हिजोको दिनमा “गुण्डा” भनेर चिनिने पात्र प्रदेश सभामा शानका साथ प्रवेश गर्छन् । एक–दुई पटक होइन, धेरै पटक मन्त्रीको शपथ पनि लिन्छन्, सरकारै चलाउँछन् । राजनीतिक दल र तिनका नेतृत्वले छत्रछायाँमा राखेर गुण्डा हुँदै राजनीतिज्ञको पगरी गुथ्दा गुण्डा नाइके दीपक मनाङे जस्ता नेता जन्मन्छन् । धन्न अदालत छ र बेलाबेला त्यस्ता नेताको सेखी झार्दै आपराधिक पृष्ठभूमि सम्झाएर जेल पठाउँछ । मनाङे त जेल चलान हुने भए, तर मनाङेलाई नेता हुँदै सांसद र मन्त्री बनाउने कांग्रेस, एमाले, माओवादी र राप्रपालाई भने जन अदालतबाट कहिले कारवाही होला ?
राजीव गुरुङ उर्फ दीपक मनाङे, जसलाई अपराधी छवि, आक्रामक शैली र विवादास्पद विगतका लागि चिनिन्छ, उनैलाई राजनीतिक दलहरूले सत्तामा पुर्याए । मनाङे केवल व्यक्तिको नाम मात्र होइन, यो हाम्रो राजनीति र व्यवस्थाको यथार्थ चित्रण हो । विडम्बना के छ भने, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता ठूला दलहरू जसले स्वच्छ राजनीति र सुशासनको कुरा गर्छन्, उनैले यस्ता पात्रलाई माला लगाएर नेतृत्वमा पुर्याइदिएका हुन् । उनीहरूको मन्त्री बन्ने यात्रामा साथ दिन्छन्, निर्णायक भूमिका दिलाउँछन् ।
मनाङेले सांसद बन्ने यात्रा सुरु गर्दा २०७४ सालको चुनावमा एमालेको साथ पाएका थिए । त्यो समय एमालेले उनलाई नै प्रदेश सभामा जिताउन टिकट दियो । तर, बाहिर ‘गुण्डा’लाई उम्मेदवार बनाएको आरोप खेप्नुपरेपछि अन्ततः उसैको दिदी नाता पर्ने खण्डा लामा गुरुङलाई टिकट दिएको थियो । तर एमालेले फेरि आफ्नो स्वार्थ पूर्तिका लागि नै मनाङेलाई समर्थन गर्यो र उनले स्वतन्त्र उम्मेदवारका रूपमा जिते । चुनाव जितेर प्रदेश सभामा प्रवेश गरेपछि सत्ताका खेलहरूमा निर्णायक बनेका मनाङे कुनै एक दलमा आबद्ध हुनुभन्दा विभिन्न दलको साथ र समर्थन लिँदै आए ।
समस्याको जड के हो भने, यस्ता पात्रहरू आफ्नो प्रभाव र शक्ति प्रयोग गरेर प्रदेशसभामा मात्र होइन, केन्द्रमा पनि प्रभाव पार्ने स्तरसम्म पुग्छन् भन्ने प्रमाणित भयो । २०७७ सालमा नेकपा विभाजन भएपछि गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले सरकार जोगाउनकै लागि उनलाई युवा तथा खेलकुद मन्त्री बनाए । यसरी नै सरकारको समीकरण अनुकूल हुँदा उनलाई पटक–पटक मन्त्री बनाइयो। मनाङेका लागि सत्ता र मन्त्री पद खेलौना बन्यो, यतिसम्मकी मनाङेले मन्त्रालय नै बेच्न चाहेको भन्दै ग्राहक खोजीरहेको अभिव्यक्ति दिए ।
मनाङमा ६,७७९ मतदाता छन्, जहाँ मनाङेका पक्षमा विशेष प्रभाव रहेको क्षेत्र प्रदेशसभा ‘ख’ मा सबैभन्दा बढी मतदाता छन्। मनाङबासीले सम्बन्ध र नाता हेरेर मनाङेलाई मत दिएका थिए । तर के मनाङको माटो सुहाउँदो नेता उनै मात्र थिए त, पक्कै होइन । अर्थात् मनाङेलाई निर्विरोध निर्वचित गराउने गल्ती नेताहरूले गरे । जसले जनतालाई सशक्त पार्न राजनीतिक दूरदर्शिता कहिल्यै देखाएनन् ।
गुण्डालाई राजनीतिमा ल्याउने एमाले, कांग्रेस र माओवादी तीनै दल दोषी हुन् । उनीहरूका नेताहरूले नै स्वार्थ पूर्तिका लागि नियम र कानुनको अवमूल्यन गरिरहेका छन् । ठूलो गल्ती चाहिँ जनताको विश्वासमाथि खेलबाड गर्नु हो। जनता त अहिलेको शासन व्यवस्था, राजनीतिक दल, नेतृत्व सबैप्रति निराश देखिन्छन् । मनाङेले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास, राहत तथा पुनर्निर्माणका कामहरूको चर्चा स्थानीयस्तरमा राम्रो छ। मनाङमा मनाङेले गरेको विकासको तुलनामा संघस्तरीय नेताहरूले कम गरेको बुझाइले उनलाई स्थानीयस्तरमा समर्थन त पाएको देखाउँछ । तर, कुनै व्यक्तिको आंशिक सेवा दुराचारलाई ढाकछोप गर्न पर्याप्त कारण हुन सक्दैन । अपराध, गुण्डागर्दी र राजनैतिक स्वार्थका आधारमा राजनेता बन्ने अभ्यास हाम्रो लोकतन्त्रको भविष्यमा कालो दागको रूपमा दर्ज हुनेछ । अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै दलहरुले पोतेको कालो दाग देखाइदियो तर दलहरूले कहिले देख्लान् ?