प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका एक भ्लगर रतन कार्कीलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ । अध्ययनका लागि जापानमा रहेका रतन कार्कीले साफ महिला च्याम्पियनसीपको फाइनल खेलको समयमा एक भिडियो बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने मनसायको भड्काउपूर्ण अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ । सोही आरोपमा प्रहरीले इन्टरपोलको सहयोगमा उनलाई नेपाल झिकाउने तयारी थालेको छ । तर यो भन्दा पनि उत्तेजक अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेश समिति सभापति अच्युतम लामिछानेसँग भने प्रहरी डराएको छ ।

बोल्न पाइन्छ तर कसैविरुद्ध पनि हिंसात्मक र उत्तेजक अभिव्यक्ति दिन पाइँदैन । जापान बस्ने चितवनका एक भ्लगर रतन कार्कीले केही दिनअघि दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसीपको फाइनल खेलका क्रममा निकै उत्तेजक र भड्काउपूर्ण अभिव्यक्ति दिए । भ्लगरका रुपमा लोकप्रियसमेत रहेका उनको अभिव्यक्तिले हिंसात्मक मनोवृत्ति बढ्ने भन्दै प्रहरीले उनको खोजी थालेको छ । त्यसो त रतनले यसअघि पनि यस्तै उत्तेजक, भड्काउपूर्ण र अश्लिल अभिव्यक्ति दिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । शान्ति र सु–व्यवस्थाका लागि पनि यस्ता अमानवीय र भड्काउपूर्ण अभिव्यक्ति दिनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै प्रहरी उनको खोजीमा जुटेको छ ।

तर यो भन्दा पनि बबर्रतापूर्ण अभिव्यक्ति केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बागमती प्रदेश सभापति अच्युतम लामिछानेले दिएका छन् । राजनीतिक दलका नेता लामिछानेले प्रधानमन्त्रीलाई चिमोटीचिमोटी हत्या गर्ने बताएका छन् । जापानमा रहेका रतन कार्कीले प्रधानमन्त्रीको हत्या गर्न रंगशालामा भएका दर्शकहरुलाई उक्साइरहेका थिए । तर अच्युतम लामिछानेले त चिमोटी चिमोटी मार्ने र त्यसको नेतृत्व आफैले गर्छु पनि भनेका छन् । उनको यो हत्या योजनाको रास्वपा कार्यकर्ताले थपडीले स्वागत पनि गरेका थिए । राजनीतिक नेतृत्वले दिएको यस्तो अभिव्यक्तिले एउटा तप्का नै प्रभावित हुन सक्छ । हत्या नै गर्ने कुरा गरेपछि उक्त पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले अच्युतम लामिछानेलाई कारबाही गर्ने पनि बताइसक्नु भएको छ । अर्थात् लामिछानेको अभिव्यक्ति हिंसात्मक र अपाच्य भएको कुरा रास्वपाले पनि स्वीकार गरिसकेको छ ।

तर रास्वपाले अहिलेसम्म अच्युतम लामिछानेलाई कारबाही गरेको छैन । रास्वपा त अहिले सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि विक्षिप्त अवस्थामा छ । यो पार्टीका नेताहरु प्रधानमन्त्रीविरुद्ध मात्र होइन, नेपाल सरकारविरुद्ध मुर्दावादको नारा लगाइरहेका छन् । यो नियतिमा पुगेपछि झाले प्रतिबद्धता गरेबमोजिम अच्युतम लामिछानेमाथि कारबाही हुने कुरै भएन । तर अच्युतमसँग प्रहरीसमेत डराएको छ । जापानबाट उट्पट्याङ भ्लग बनाउने एउटा मामुली केटोलाई खोज्न इन्टरपोलको सहयोग लिन लागेको प्रहरीले सम्भवत राजनीतिक शक्तिका कारण हुन सक्छ रतनको भन्दा पनि हिंसात्मक र भड्काउपूर्ण अभिव्यक्ति दिएका अच्युतममाथि कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन । आफूसँग एक लाख कार्यकर्ता भएको धाकधम्की दिएका लामिछानेलाई चलाए उनैले भनेको जस्तो देश बंगलादेशकै बाटोमा पुग्ने डरले पो हो कि प्रहरीले अनुसन्धान नै गर्न नसकेको ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय