फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ जातीय विभेद, गरिबी, र सामाजिक अन्यायमाथि आधारित नेपाली समाजको यथार्थलाई गहिरो रूपमा उजागर गर्छ । फिल्मले परम्परागत पेशामा बाँधिएका दलित समुदायको जीवन र संघर्षलाई पर्दामा उतारेको छ, जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ ।

जातीय संरचना र परम्परागत पेशाको बोझ

फिल्मको कथा सारङ्गी बजाउँदै जीवनयापन गर्ने गन्धर्व समुदायको वरिपरि घुम्छ । पूर्णबहादुरको कथाले जातीय विभेद र गरिबीको चक्रमा फसेका नेपाली समाजका तल्लो वर्गका मानिसहरूको वास्तविकता ऊजागर गर्छ । बाटुलीले तल्लो जातसँग प्रेम विवाह गरेपछि परिवारबाट ठुलो दण्ड भोग्नुपर्ने दृश्यले जातीय पूर्वाग्रहको गहिराइलाई देखाउँछ ।

जात व्यवस्थाले परम्परागत पेशालाई धर्मको रूपमा धारण गर्न बाध्य पार्छ । पूर्णबहादुरलाई गाउने र सारङ्गी बजाउने काम उनका पुर्खाले जस्तै स्वीकार्नु पर्छ भन्ने सोचले जातीय उत्पीडनलाई झल्काउँछ । फिल्ममा यो विषयलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको छ, जहाँ परम्परागत पेशालाई तोड्न खोज्दा सामाजिक बहिष्कारको डर हुन्छ ।

गरिबी र जात व्यवस्थाको गाँठो

फिल्मले गरिबी र जात व्यवस्थाको आपसी सम्बन्धलाई गहिरो रूपमा चित्रण गर्छ । ग्रामीण भेगमा जमीन नभएको र रोजगारीको अवसर सीमित भएका कारणले गर्दा दलित समुदायले परम्परागत पेशा बाहेक अरु विकल्प खोज्न गाह्रो हुन्छ । फिल्ममा, ‘गाउँका मास्टर’ पात्रले पूर्णबहादुरलाई “मागेर पाइन्छ र ? गरेर खाए हुन्छ नि !” भन्ने संवादमार्फत समाजमा रहेको आर्थिक र सामाजिक विभेदलाई ऊजागर गरेको छ ।

राजनीतिक प्रहसन र निम्न वर्गको शोषण

फिल्ममा मास्टरको पात्रले नेपालमा भएको राजनीतिक परिवर्तनको आडमा निम्न वर्गको शोषण भइरहेको देखाउँछ । ‘बहुदल’ र ‘पञ्चायत’ परिवर्तनको आन्दोलनका क्रममा गरिब र उत्पीडित वर्गको नाममा राजनीति गर्ने तर वास्तविकता भने त्यसै वर्गलाई थप सीमान्तीकरण गर्ने प्रवृत्तिलाई फिल्मले राम्ररी चित्रण गरेको छ ।

परम्परागत समाज र आधुनिकताको टकराव

‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली समाजको एक संक्रमणकालीन अवस्थामा रहेको तस्वीर प्रस्तुत गर्छ, जहाँ पुराना परम्पराहरू भत्कँदै छन् तर नयाँ व्यवस्थाले ठाउँ लिन सकेको छैन । जातीय विभेद, गरिबी, अन्तरजातीय विवाहपछि हुने संघर्ष, र सामाजिक असमानताको कथालाई फिल्मले सशक्त रूपमा उठाएको छ ।

फिल्मको अन्त्यमा, बाटुलीको पात्रले आफ्नो छोराको भविष्यको लागि नयाँ बाटो खोज्न शहरको यात्रा गर्ने निर्णय लिन्छिन् । यसले परम्परागत सोच र नयाँ जीवनको खोजी बीचको द्वन्द्वलाई देखाउँछ । फिल्मले नेपाली समाजमा अझै पनि व्याप्त रहेको जातीय विभेद र गरिबीको चुनौतीलाई स्पष्ट रूपमा ऊजागर गरेको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म उद्योगमा एउटा सशक्त प्रस्तुति हो, जसले जातीय विभेद र सामाजिक अन्यायमाथि गहिरो सन्देश दिएको छ । यो फिल्मले दर्शकलाई समाजमा अझै व्याप्त असमानता र विभेदप्रति संवेदनशील बन्न उत्प्रेरित गर्छ । यसरी, ‘पूर्णबहादुरको सारङ्गी’ केवल मनोरञ्जनको माध्यम नभएर समाजमा सुधारका लागि एउटा सशक्त आवाज बनेर प्रस्तुत भएको छ । फिल्मलाई जात व्यवस्थाको विरोध र न्यायको पक्षमा एक महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय