काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले नगरका १६ वटा सामुदायिक विद्यालयमा कानूनी सचेतना, लैङ्गिक हिंसा र लागुऔषधि सम्बन्धी प्रशिक्षण दिएको छ ।
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा नगरपालिकाको न्यायिक समितिका कर्मचारी, जनप्रतिनिधि र मेलमिलापकर्ताले कानूनी सचेतना, लैंङ्गिक हिंसा र लागुऔषधि सम्बन्धी जानकारी दिएका हुन् । प्रशिक्षणको क्रममा पहिलो दिन भीम मावि, श्रीकृष्ण मावि, चण्डी भैरव मावि र चण्डिका देवी माविमा प्रशिक्षण दिइएको थियो ।
यस्तै दोस्रो दिन मंसिर ५ गते बलुम्बु मावि, कंकाली मावि, विद्या मन्दिर र मंगल मावि, तेस्रो दिन विष्णुदेवी मावि, चुनदेवी मावि, जनविकास मावि र विष्णुदेवी शिक्षा सदनमा र चौथो तथा अन्तिम दिन जनकल्याण मावि, मंगलोदय मावि, श्री प्रभावत मावि, नारायणजन मावि र श्री भैरव नाथ माविमा सचेतना कार्यक्रम संचालन गरिएको थियो । १६ वटा विद्यालयका ९ सय ५० जना विद्यार्थी प्रशिक्षणमा सहभागीता रहेको थियो । न्यायिक समितिले वडामा रहेका मेलमिलापकर्तालाई प्रशिक्षकको रुपमा राखि कार्यक्रमको आयोजना गरेको थियो ।
प्रशिक्षणको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक बसन्ती श्रेष्ठ, न्यायिक समितिका सदस्य रत्नलाल श्रेष्ठ र सीता सत्यालले सामुदायिक विद्यालयमा संचालनमा रहेको दिवा खाजा सेवा र स्कुलको शौचालयको अनुगमन गर्नुभएको थियो ।