वैशाख पूर्णिमा र फागुपूर्णिमामा विशेष मेला लाग्ने गरेको स्थानीयहरुले भालेश्वर, गुमालचोकी भन्दै समय समयमा खडेरी पर्दा पानी माग्न रुद्री–पाठ गरिने स्थान जुन आज चर्चाको शिखरमा छ । चन्द्रागिरि पर्वतमा अवस्थित कुनै आइकोनोग्राफी नभएको शिलालाई मात्र पुजिने गरेको यो स्थानको बारेमा शैव सम्प्रदायसित जोडिएको मतहरु प्रशस्त छन् । प्राचीन विभिन्न शास्त्रहरुमा यो पर्वतको वर्णनहरु पाइन्छन् । तामाङ समुदायले यस स्थानलाई घोङर ज्यौः भन्दछन् । घोङर भनेको भाले र ज्यौंः भनेको देवता हो । त्यस्तै नेवार समुदायले गोगंचु द्यः अर्थात भालेको जुरो देवता भन्दछन् । खस आर्यहरुले गुमालचोकी र भालेश्वर भन्दछन् । सामरीक रुपमा अति नै महत्वपूर्ण स्थानमा रहेको यो थुम्को जहाँ वि.सं. २०७२ मा परम्परा देखि मान्दै, जान्दै आएको भालेश्वरलाई पन्छाई (ओझेलमा पारी) आधुनिक भालेश्वरको मन्दिर निर्माण गरिएको छ । सर्वत्र भाल पतन भएको स्थान भएकाले यस मन्दिरलाई भालेश्वर भनिन्छ भनेर प्रचार गरिएको छ ।
के सतिदेवीको भाल (निधार) पतन भएको निकुञ्जाचल पर्वत यही हो त ? ६४ लिंग अन्तर्गत शास्त्रमा वर्णित भालेश्वर यही हो त ? लीलावती र सुखश्रवा नदीको संगम छेउमा अवस्थित यो भालेश्वर छ त ? के विरुपाक्षले माघ कृष्ण नवमी दिन दर्शन गरेको शिवलिंग यही हो त ? होइन विरुपाक्षले दर्शन गरेको ६४ लिंग मध्येको दशौं नम्बरमा पर्ने शिव लिंग भालेश्वरको शिव लिंग नै हो तर, यस चन्द्रागिरि पर्वतमा भएको भालेश्वर होइन ।
पनौति नगरपालिकामा अवस्थित इन्द्रेश्वर र गुप्तेश्वरको बीचमा रहेको गन्धव तीर्थको छेउमा निकुञ्जाचल पर्वतमा रहेको भालेश्वर हो । हालसम्म पनि पनौती भालेश्वर छेउमा लीलावती र सुश्रवा नदी बग्दछ । ६४ लिंग अन्तरगत शास्त्रमा वर्णित भालेश्वरको उत्पत्ती सम्बन्धमा सतीदेवीको मृतशरीर लिएर महादेवले पृथ्वी घुम्ने क्रममा निकुञ्ज पर्वतको टाउकुरामा आईपुग्दा निधार खस्यो त्यहाँ तत्काल शिवलिंग उत्पन्न भयो । संस्कृतमा निधारलाई भाल भन्दछन् । त्यसकारण यस लिंगको नाम भालेश्वर हुन गयो । जुन स्थान पशुपतिबाट ३७ किलोमिर आग्नेय कोण हाल कलातीभूमे डाँडा भन्ने ठाउँमा पर्दछ यो पनौतीमा छ । जसको वर्णन हिमवतखण्ड ९८ अध्याय, भालेश्वर गन्धर्व तीर्थ महात्म्य पृष्ठ ४०० मा प्रस्ट गरिएको छ ।
राजा प्रताप मल्लको ई.सं. १६६९ को तीर्थयात्रा नाउँको ठ्यासफूमा पनि स्पष्ट वर्णन गरिएको छ । साथै भालेश्वर मन्दिरसम्बद्ध वि.सं. १८७० को ताम्रपत्र, रुक्कापत्र पनि प्राप्त भएका छन्, साथै संवत १९०३ को घण्ट अभिलेख समेत प्राप्त भएको छ । यी र शास्त्रमा जनिएको प्रमाणका आधारमा चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर शास्त्रमा जनिएको, सतिदेवीको भाल पतन भएको भालेश्वर होइन । चित्लाङ, फाखेल, थानकोट, महादेस्थान, मातातीर्थतिरका स्थानीयले भन्दै पुज्दै आएको चन्द्रागिरिमा अवस्थित भालेश्वर तामाङ समुदायले भन्दै आएको घोङर ज्यौंः र नेवार समुदायले भन्दै आएको गोगंचु द्यः अपभ्रंश भई खस आर्यहरु कोहिले गुमालचोकी महादेव र कोहीले भालेश्वर नै भन्ने गरेको पाइन्छ । प्राकृतिक शिलाका प्रतीकात्मक लोक देवताको रुपमा पुज्दै आएको पाइन्छ ।