काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित थानकोटको त्रिभुवन पार्क पछाडीको बाटो कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिकाको आन्तरिक बजेटबाट निर्माण भएको सडकको कुल लागत २ करोड २७ लाख रहेको छ । देवीस्थान शमशेर जेवी कम्पनीले कामको ठेक्का पाएको हो । नगरपालिकाले सडकको लागि २ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याए पनि ठेकेदार कम्पनीले २ करोड २७ लाखमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता अनुसार ६ मिटर चौडा र ७ सय २० मिटर कालोपत्रे भएको छ ।
वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले वडाको प्रत्यक्ष निगरानीमा स्थानीय शंकर महर्जनको अध्यक्षतामा ७ सदस्यीय बाटो निर्माण सरोकार समिति गठन गरी काम सम्पन्न गराएको जानकारी दिनुभयो । अध्यक्ष खड्गीले बाटो कालोपत्रे भएसँगै यातायात र हिडडुल गर्न सहज भएको भन्दै निर्माण कार्यमा सहयोग पुर्याउने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिनुभयो ।