कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनामा नेपालले ऋण नभई अनुदानमा सहयोग लिनुपर्ने अडान दोहोर्याउनुभएको छ ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले बीआरआई परियोजनामा कांग्रेस स्पष्ट रहेको भन्दै ऋण नभई अनुदान लिनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणलाई फलदायी हुने विश्वास व्यक्त गर्दै देउवाले सत्तारूढ गठबन्धनमा कुनै खटपट नभएको समेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणको समयमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारूढ दलहरू कांग्रेस र एमालेबीच मतभेद रहेको भनिएपनि दुई दलको संयन्त्रले यसमा काम गरिरहेको छ । कांग्रेसे सार्वजनिक कार्यक्रममा अनुदान मात्रै स्वीकार्य हुने बताएपनि सफ्ट लोन लिने विषयमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा सम्झौता गर्ने बुझिएको छ । चीनले नेपाललाई सम्झौतामा हस्ताक्षर गराउन चाहिरहेको भए पनि भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसभित्र फरकफरक विचार उठिरहेका छन्।