यसै साता सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी अनावरण गरिएको छ । धरहरा परिसरमा एनपिएलका आठवटै टोलीका मार्की खेलाडीको साथमा प्रधानमन्त्री केपी ओलीबाट ट्रफी अनावरण गरिएको हो । कालापथ्थरको ढुंगा मुख्य आकर्षण बनाइएको ट्रफीले प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधनलाई प्रोत्साहन गर्ने नेपाल क्रिकेट संघ क्यानको दाबी छ ।
कुनै पनि प्रतियोगिताको सुन्दरता त्यहाँ हुने स्वच्छ प्रतिस्पर्धा हो भने मुख्य आकर्षण विजेताले पाउने ट्रफी । चाहे फिफा विश्वकप होस् या आईसिसी क्रिकेट विश्वकप वा अन्य कुनै लिगका ट्रफी नै किन नहुन् । ट्रफीले धेरैको ध्यान तानेको हुन्छ । सामान्य धातुबाटै बने पनि ट्रफी त्यो बेला मुल्यवान हुन्छ, जब त्यो ट्रफी जित्ने अभिलाषा लिई खेलाडीहरु प्रतिस्पर्धामा होमिन्छन् ।
अहिले नेपाली खेलकुद क्रिकेट र नेपाल प्रिमियर लिगमय बनेको छ । एनपीएलमा सहभागी ८ वटै फ्रेन्चाईजीहरु आन्तरिक तयारीमा व्यस्त रहँदा आयोजक नेपाल क्रिकेट संघ क्यानले एनपिएलको विजेतालाई प्रदान गर्ने ट्रफी सार्वजनिक गरेको छ । सुन्धारास्थित धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो ट्रफीको अनावरण गरे । भारतमा बनेको यो ट्रफीलाई क्यानले प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधनको प्रतिकको रुपमा लिएको छ । धातुबाट बनेको यो यो ट्रफीको वजन ३ केजी र उचाई ८८४८ मिमि छ । विश्वकै अग्लो शिखर सगरमाथाको उचाईलाई प्रतिविम्वित गर्ने उद्देश्यले ट्रफीको उचाई निर्धारण गरिएको क्यानले बताएको छ । ट्रफीको मध्यभागमा सगरमाथाको आकृति कुदिँनुका साथै नेपालको भौगोलिक विशेषताको प्रचार गर्न खोजिएको छ । यो ट्रफीको मुख्य आकर्षणको केन्द्र भने सगरमाथा आधार शिविर कालापत्थरको ढुंगा हो । ट्रफीको शिरमै कालापत्थरको ढुंगा राखिएको छ । नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधन गर्ने सन्देश सहित ट्रफीमा ढुंगा राखिएको क्यानले बताएको छ ।
यसले विश्वमा बढ्दो वातावरणीय प्रतिकुलताको असरबारे सन्देश दिन खोजेको क्यानको धारणा छ । सामाजिक सञ्जालमा चर्चाको विषय बनेको यो ढुंगा विश्व प्रसिद्ध युवा आरोहीद्वय नीमा रिन्जी शेर्पा तथा मिङ्ग्मा ग्याबू शेर्पाले कालापत्थरबाट ल्याएका हुन् । यी दुई आरोही यही प्रयोजनका लागि कालापथ्थर पुगेका थिए । समग्रमा नेपाली खेल, पर्यटन, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रतिकका रूपमा एनपिएलको ट्रफी रहने क्यानको विश्वास छ । मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर आमनेसामने हुनेछन् ।