काठमाडौं । सातौं सामाजिक सुरक्षा दिवस मनाइँदैछ । सामाजिक सुरक्षा कोषले हाल १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार ६ सय ४० योगदानकर्ता कोषमा आबद्ध भएको जनाएको छ । जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४ सय ९१ जना छन् । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ रहेको छ । यसैगरी स्वरोजगारमा २ सय २७ जना र अनौपचारिकतर्फ ३ सय ७ जना आबद्ध रहेका छन् ।
कोषमा अहिलेसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ । कोषले अहिल ५८७ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि एक लाख ५७ हजार ५ सय रुपैयाँसम्म अहिले मासिक निवृत्तिभरण दिँदै आएको छ । यसबाहेक सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुगेसम्म प्राप्त गर्ने व्यवस्था छ ।
अहिले सन्तति शैक्षिकवृत्ति २७८ मृतकका ३६३ बालबालिकाले प्राप्त गर्दै आएको कोषले जानकारी दिएको छ । यस्तै कानूनअनुसार मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । कोषले आश्रित परिवार योजना अन्तर्गत हालसम्म १८ करोड ५५ लाख पाँच हजार ९६८ रुपियाँ निवृत्तिभरणका रूपमा उपलब्ध गराइएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै वेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक एक लाख ५७ हजार ५ सय रुपैयाँसम्म निवृत्तिभरण उपलब्ध गराएको छ ।
२०७५ मङ्सिर ११ गते स्थापना भएको कोषले विभिन्न योजना अन्तर्गत कर्जा, स्वास्थ्य बिमा र निवृत्तिभरणलगायतका सुविधा प्रदान गर्दै आएको छ ।