मोरङको ग्रामथान गाउँपालिकालाई चुनावी माहोलले छपक्कै छोपेको छ । धान थन्क्याएर हिउँदे खेतीमा जुट्नु पर्ने किसानलाई चुनावको चटारो थपिएको छ । उम्मेदवार मत माग्दै मतदाता माझमा पुगिरहेका छन् । यो पटक तीनवटै प्रमुख दलबाट गाउँपालिका अध्यक्षका उम्मेदवार कांग्रेस पृष्ठभूमिका छन् । वैचारिकरूपमा फरक दलको प्रतिस्पर्धा भनिए पनि यो उपचुनावलाई कांग्रेसकै उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा अर्थ्याइएको छ ।

मोरङको ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनको चुनावी माहोल तात्तिएको छ। कुल २६ हजार ४४ मतदातासहितको यस क्षेत्रमा तीन प्रमुख राजनीतिक दल- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसले बलराम सरदार, एमालेले तुलसीराम विश्वास र माओवादी केन्द्रले नमोनारायण माझीलाई अध्यक्ष पदका उम्मेदवार बनाएका छन्। विश्वास र माझी विगतमा कांग्रेसबाट राजनीति गर्नुभएको थियो । ग्रामथान कांग्रेसको पुरानो आधार क्षेत्र हो। कांग्रेसका उम्मेदवार बलराम सरदार विकासका अधुरा कामहरू पूरा गर्ने प्रतिबद्धतासहित मतदाता आकर्षण गर्ने प्रयासमा हुनुहुन्छ ।

तुलसीराम विश्वास यसपटक एमालेको उम्मेदवार भए पनि पार्टीभित्र बागी उम्मेदवारको चुनौती छ। स्थानीय तहको अघिल्लो निर्वाचनमा कांग्रेसले एमालेभन्दा १५०० बढी मत प्राप्त गरेको थियो। ग्रामथानमा थारु र चौधरी समुदायको बसोबासले चुनावी नतिजामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ। अध्यक्षका उम्मेदवार नमोनारायण माझी, केही समयअघि मात्र कांग्रेस छाडेर माओवादीमा प्रवेश गर्नुभएको हो ।
विगतको तेस्रो स्थानबाट यसपटक जित हात पार्ने उद्देश्यसहित माओवादीले पिछडिएको समुदायलाई लक्षित गर्दै प्रचारप्रसार गरिरहेको छ। मतदाताहरूले स्वरोजगार, पूर्वाधार विकास र स्थानीय बजेटको प्रभावकारी उपयोगमा ध्यान दिने उम्मेदवारलाई प्राथमिकता दिने संकेत गरेका छन्। कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको गत असार ३ गते मृत्यु भएपछि खाली भएको पालिका अध्यक्षमा १६ गते उपनिर्वाचन हुन लागेको हो । यो पटक पनि ग्रामथानमा कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय