काठमाडौं । चन्द्रागिरि नगरपालिकाले शिक्षित युवालाई डिजिटल सीप प्रदान गरी सूचना प्रविधि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण कदम चालेको छ । सोमबारदेखि सुरु गरिएको ९० दिने डिजिटल तालिममा नगरका १५ वटै वडाका ५० युवाले दैनिक तीन घण्टाका लागि सूचना प्रविधिका ११ विभिन्न आयाममा ज्ञान हासिल गर्नेछन् ।
तालिम ८८ ‘स्किल ल्याब’ ८८ को सहकार्यमा सञ्चालन गरिएको हो, जसले सहभागीसँग तालिमपछि विदेशी कम्पनीहरूसँग रोजगारीका लागि समन्वय पनि गर्नेछ । सहभागीहरूले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले तालिम शुभारम्भ गर्दै युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न डिजिटल सीपमूलक तालिमलाई प्राथमिकता दिइएको बताउनु भयो । यसले नगरको सेवा प्रविधिमैत्री बनाउँदै लैजाने लक्ष्य पनि राखेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले यस्तो प्रकारको तालिमले सीप र रोजगारीलाई जोड्न, दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न मद्दत पुग्ने दाबी गर्नुभयो ।
उहाँले नगरको यो प्रयास चन्द्रागिरि नगरपालिकाका युवाहरूलाई स्वदेशमै स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउन गरेको नवीन पहलको एउटा उदाहरण भएको बताउनु भयो ।