स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन अस्पतालहरूको वर्गीकरणलाई आवश्यक ठहर गर्दै, सेवा केन्द्रित व्यवस्थापनको आवश्यकता रहेको बताउनुभएको छ। चितवनमा आयोजित एक स्मृति सभामा उहाँले हालको स्वास्थ्य प्रणालीलाई सुधार गरी समाजवाद र लोकतन्त्रको भावना जनताले अनुभूति गर्न सक्ने अवस्था निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले सिमित स्रोत र साधनका बावजूद, अधिकतम सेवा दिने चुनौतीलाई सामना गर्नुपर्ने अवस्थाले स्वास्थ्य मन्त्रालयलाई अझ प्रभावकारी योजनाहरू बनाउन प्रेरित गरिरहेको उल्लेख गर्नुभयो। साथै, १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार पाँचवटा अस्पतालमा निःशुल्क उपलब्ध गराइएको र यस वर्ष जलन उपचारका लागि नेपालका ८ अस्पतालमा निःशुल्क सेवा सञ्चालन गरिएको पनि जानकारी दिनुभयो।
स्व बलराम श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा, चितवनको पहाडी क्षेत्रको विकास, स्वास्थ्य, र शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदानको पनि चर्चा गरियो। कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरूले आफ्नो मन्तव्य राख्दै, स्व श्रेष्ठको योगदानको प्रशंसा गरे।