काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बालअधिकार संरक्षण तथा प्रवद्र्धनमा उदाहरणीय काम गरेको भन्दै सम्मान प्राप्त गरेको छ । सिविन नेपालको ३७औं वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि नगरपालिकाले बालअधिकारको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको सिविन नेपाल राष्ट्रिय बालअधिकार सम्मानबाट नगरपालिकालाई सम्मानित गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपतकालिन सहयोगका लागि बालकोष स्थापना गरी बालबालिकाप्रतिको जिम्मेवारी र जवाफदेहिताको बहन गर्दै पालिकालाई बालमैत्री बनाउन गरेको प्रयास स्रहानीय भएको उल्लेख गरेको छ । सिविन नेपालले कदर पत्र प्रदान गर्दै चन्द्रागिरिको १५ वडा मध्ये ८ वटा वडा बालश्रम मुक्त वडा घोषणा भईसकेको र बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा सिविन नेपाल सहयोगी हुन पाएकोमा कृतज्ञता व्यक्त गरेको छ ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरले बालबालिकाको हकअधिकारको विषयमा अझ धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले नगरपालिकाले गरेको कामको प्रसंसा र मूल्यांकनको कदर गर्दै सिविन नेपालले गरेको सम्मानले पालिकाको अझ बालबालिकाप्रति जिम्मेवारी थपिएको बताउनु भयो । उपप्रमुख श्रेष्ठले नगरलाई बालश्रम मुक्त वडा घोषणा गर्न सबैले आ–आफ्नो स्थानबाट पुर्याउनु भएको सहयोग र योगदानको उच्च प्रशंसा गर्दै बाँकी वडालाई छिट्टै बालश्रम मुक्त वडा घोषणा गर्न नगरपालिका लागि पर्ने बताउनु भयो । उहाँले सबै वडा बालश्रम मुक्त वडा घोषणा भएपछि नगरले विशेष कार्यक्रमको आयोजना गरेर चन्द्रागिरि नगरपालिका बालश्रम मुक्त पालिका भएको उद्घोष गर्ने बताउनु भयो ।