
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरको सामुदायिक अस्पताल र वडाका स्वास्थ्य चौकीबाट निस्किएका फोहोर व्यवस्थापनको लागि सतुंगलस्थित एपिएफ अस्पतालसँग सहकार्य गर्ने उद्देश्यले प्रारम्भिक छलफल अघि बढाएको छ ।



चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी, वातावरण शाखाका संयोजक घनश्याम लुइँटेल, शाखा प्रमुख भद्रा अर्याललगायतको टोली एपिएफ अस्पताल पुगेर फोहोर व्यवस्थापनको विषयमा जानकारी लिनुभएको थियो । एपीएफ अस्पतालका फोहोरमैला व्यवस्थापनका शाखा प्रमुख वेद खड्काले अस्पतालबाट सामान्य र संक्रमित गरी दुई प्रकारका फोहोर निस्कने र संक्रमित तथा जोखिमयुक्त फोहोर जहाँ पायो त्यही फाले गम्भीर रोगको शिकार हुनसक्ने बताउनु भयो । उहाँले अस्पतालमा उत्पादित फोहोर आफैं नष्ट गर्ने इन्सिनेटर ९ फोहोरलाई बन्द भाँडोमा जलाएर नष्ट गरिने प्रविधि मार्फत व्यवस्थापन गरिने र केही फोहोरबाट अतिरिक्त आम्दानी गर्न सकिने पनि बताउनु भयो ।
प्रमुख खड्काले अस्पतालले गत महिनामा मात्र अस्पतालबाट निस्किएको फोहोर प्लाष्टिक, कडा प्लाष्टिक, नरम कागज, कडा कागज, पानीको बोतल, सिरिन्ज, ग्लोभ्स, स्लाईन बोतल, कार्टुन, ग्यालेन र आलम्युनियमबाट लगभग ३४ हजार रुपैयाँ आम्दानी गरेको बताउनु भयो । उहाँले अबको केही समयमा नै फोहोरबाट वायो ग्यास उत्पादनको लागि एपीएफ अस्पतालले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले अस्पताल र स्वास्थ्य चौकीबाट निस्किएको फोहोर व्यवस्थापनको लागि नगरपालिकाले एपीएफसँग छलफल अघि बढाएपनि स्कुलबाट निस्किएका फोहोर भीम माध्यमिक विद्यालयमा व्यवस्थापन गर्ने व्यवस्था नगरपालिकाले गरिसकेको जानकारी दिनुभयो । उहाँले अस्पताल र स्वास्थ्य चौकीबाट निस्किएका फोहोर व्यवस्थापनको लागि नगरपालिकाले चाडो भन्दा चाडो व्यवस्थापन गर्ने बताउनु भयो ।