काठमाडौंं । बाला चतुर्दशी पर्वका अवसरमा पितृका नाममा बत्ती बाल्नका लागि नाम दर्ता गर्न पशुपति क्षेत्र विकास कोषले दुई हजार एक सयका दरले शुल्क लिने भएको छ ।
पितृका नाममा बत्ती बाल्न आएका व्यक्तिहरु राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रवक्ता रेवतीरमण अधिकारीले आफैँ बत्ती कुरेर बस्नेले भने कुनै शुल्क तिर्न नपर्ने र बत्ती बाल्नेका लागि त्यस्तो व्यवस्था रुद्रगाडेश्वरमा गरिएको जानकारी दिनुभयो ।
यसका लागि श्रद्धालुलाई शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था गरिएको छ ।
यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीका राति बत्ती बालेर जाग्राम बसी भोलिपल्ट बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने चलन छ । यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ ।