नेपालमा क्रिकेटको उर्वरभूमि मानिने सुदूरपश्चिमको प्रनिधित्व गर्दै नेपाल प्रिमियर लिग खेल्ने टोली सुदूरपश्चिम रोयल्स । सफल प्रशिक्षक जगत टमाटा र खेलाडी दीपेन्द्र सिंह ऐरी मार्की रहेको सुदूरपश्चिममा नेपाली क्रिकेट र खेलाडीका विषयमा राम्रो जानकार विदेशी खेलाडीहरु छन् । जुन एनपिएलमा टोलीको बलियो पक्षका रुपमा रहनेछ ।

एनपीएल टोली सुदूरपश्चिम रोयल्स इम्पायर स्पोर्टसको स्वामित्वमा छ । जसका लागि रोयल्स इम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ लगानी गरेको छ । खेलाडी अक्सनमा ७४ लाख खर्चिँदै सुदूरपश्चिमले ए क्याटेगोरीबाट आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारीलाई अनुबन्ध गर्यो । आफ्नै प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेको यो टोलीमा आइकोनिक सहित ७ जना खेलाडी सुदूरपश्चिमकै छन् । मार्की दीपेन्द्रसहित, विनोद, नरेश बुढाएर, नरेन साउद, खडग बोहरा, भोजराज भट्ट र बसन्त खत्री सुदूरपश्चिम प्रदेशका हुन् । अक्सनबाट अविनाश बोहरा, अर्जनु कुमाल, इशान पाण्डे र अमित श्रेष्ठ आएका छन् । दीपेन्द्र र आरिफ हाल राष्ट्रिय टोलीमा छन् भने अविनाश, इशान पाण्डे र नरेश बुढाएर सिनियर टोलीका अनुभवी खेलाडी हुन् । त्यस्तै विष्फोटक ब्याटर विनोद भण्डारी नेपाल ए का कप्तान समेत हुन् । टोलीका अर्जुन र नरेन हाल एसिसी अण्डर नँईन्टिन एसिया कप खेलिरहेका छन् भने खडग पनि उमेर समुहबाट खेलिसकेका खेलाडी हुन् । उनीहरुलाई आईपिएलदेखि नेपालको मैदान र खेलाडीका जानकार विदेशी खेलाडीहरुको साथ हुनेछ ।

सुदुरपश्चिममा को को छन् विदेशी खेलाडीः
ब्रान्डन म्याकमुलन, स्कटयान्डः ब्याटिङ अलराउन्डर म्याकमुलनले १६ ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा ६ अर्धशतक सहित ४९७ रन बनाएका छन् । राष्ट्रिय टोलीका ओपनिङ ब्याटर उनी सुदुरपश्चिमलाई शान्दार सुरुवात दिलाउन महत्वपूर्ण बन्ने अपेक्षा छ ।

सेफ जैब, इङ्ल्याण्डः ब्याटिङ अलराउन्डर जैबको ट्वेन्टी ट्वेन्टीमा १४० माथिको स्ट्राइक रेट छ । स्कट कुग्लेइन, न्युजिल्यान्डः बलिङ अलराउन्डर कुग्लेइन आईपिएल खेलेका अनुभवी खेलाडी हुन् । टोलीमा तीव्र गतिको बलरका रुपमा विपक्षीमाथि दबाब बनाउन सक्ने उनी आवश्यक पर्दा रन जोड्न समेत सक्षम छन् ।

रोहन मुस्तफा, युएईः अलराउन्डर मुस्तफा नेपालका लागि परिचित क्रिकेटर हुन् । एसोसियट राष्ट्रका उत्कृष्ट अलराउन्डरमध्ये मुस्तफाले नेपालमा राष्ट्रिय टोलीबाट खेल्नुका साथै यहाँ हुने गरेका एभरेष्ट, पोखरा र धनगढी प्रिमियर लिग समेत खेलिसकेका छन् । युएईका लागि ५८ ट्वेन्टी ट्वेन्टीमा उनले १ हजार ६ रन र ६१ विकेट समेत लिइसकेका छन् ।

सबल ब्याटिङ लाइनअप
अक्सनबाट अधिकांश ब्याटर भित्र्याएको सुदुरपश्चिमलाई विदेशी अलराउण्डरको साथमा बलियो ब्याटिङ लाइनअप दिएको छ । खेलाडीको सुची हेर्दा यो टोलीमा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन् ।

फुल टाइम बलरको अभाव
तुलनात्मक रुपमा सुदूरपश्चिममा पूर्ण कालिन बलरको अभाव देखिन्छ । पेश बलिङमा अविनाश बोहरा र स्कट कुगेलेइन तथा स्पीनमा नरेन साउद र भोजराज भट्टमात्र छन् । बलरको अभाव रहँदा टोली पार्ट टाइम बलरमा निर्भर हुनुपर्ने देखिन्छ । दीपेन्द्र, रोहन र आरिफले त्यसको पूर्ति गर्न सक्छन् । टोलीलाई राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराइरहेका छन् । नेपालका लागि सफल प्रशिक्षक टमाटाको प्रशिक्षणमा सुदुरपश्चिम उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहँदा टोलीका मेन्टरका रुपमा अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्राड हज छन् । सुदुरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय