काठमाडौं । बाला चतुर्दशीको पूर्वसन्ध्यामा चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा महादीपदान गरिँदैछ । पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको छ । त्रयोदशी अर्थात् अहिले श्रद्धालुहरु दीप बालेर रातभर जाग्राम बस्ने र बिहान स्नान गरी मन्दिर क्षेत्रमा शतबीच छर्ने गर्छन् ।
शतबीज छर्नाले पितृको मुक्ति हुने जनविश्वास रहेको छ । शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने धर्मग्रस्थमा उल्लेख छ । विभिन्न ठाउँबाट आएका श्रद्धालु दीप कुर्ने क्रममा राति भजनकीर्तन गरी रात बिताउने गर्दछन् । चन्दन भराटेश्वर महादेव मन्दिरमा बस्ने ठाउँ, दीप प्रज्ज्वलन, भजनकीर्तन, पूजापाठलगायतको व्यवस्था गरिएको छ ।
त्यसैगरी चन्द्रागिरि नगरभित्र बल्खुखोला (ईन्द्रमती) र ठाडोखोला (ईच्छुमती) को किनार बखुँः विष्णुदेवी मन्दिर, ईच्छावृषेश्वर गोलोकेश्वर महादेव मन्दिरमा पनि भक्तजनहरुले महादीप प्रज्वलन गरिरहेका छन् । देशैभरका अधिकांश शिवालय मन्दिरमा आज जाग्राम बसी भोलि शतबीज छर्ने गरिन्छ ।