काठमाडाैं । एकताका राष्ट्रिय अखण्डताविरोधि नारा उरालेर मधेसका युवाहरुलाई दिग्भ्रमित गर्न खोजेका डा. सिके राउतले सरकारसँग सम्झौता गर्दै त्यो अभियान त्यागे । तर, केही समयदेखि किसान आन्दोलनको नाममा उनले सुरु गरेको अराजक गतिविधिले फेरि मधेसलाई अशान्त तुल्याउन थालेको छ ।
राउतले नेतृत्व गरेको जनमत पार्टीले किसानसँग जोडिएका केही मागहरु अघि सार्दै अराजक ढंगका आन्दोलन गरिरहेको छ । पार्टीले उठाएका मागहरु नाजायज छैनन्, तर आन्दोलनको प्रवृत्ति गलत छ । आफूलाई ‘गान्धीवादी’ बताउने राउत आफ्ना कार्यकर्तालाई हिंसा र उपद्रव मच्चाउन प्रेरित गरिरहेका छन् । कानून हातमा लिन सिकाइरहेका छन् ।
जनमत पार्टीको अराजकता गत कात्तिकबाटै सुरु भएको थियो । सो पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाटै थुतेर अर्धनग्न पारी कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए । एउटा सरकारी कर्मचारीलाई ‘भ्रष्टाचारी’ वा ‘घुस्याहा’ संज्ञा दिएर दुव्र्यवहार गरिँदा खुशीमा रम्नेहरुको कमी छैन देशमा । राजनीतिकर्मीसँगै कर्मचारीयन्त्रले पनि जनविश्वास गुमाएको हुँदा त्यस्तो दुर्व्यवहार गर्नेले गालीभन्दा बढी ताली नै पाउँछन् । तर, यो प्रवृत्ति कानूनी राजका दृष्टिले घातक छ ।
सिके राउतले सामाजिक सञ्जालमार्फत व्यक्तिको नामै किटेर जनकारवाहीको धम्की दिएका छन् । हिंसा गर्न कार्यकर्तालाई उक्साउने भाषण गरेका छन् । यसमा प्रहरी–प्रशासनले मौनता साँध्न मिल्दैन । घटनामा संलग्न दुई–चार कार्यकर्तालाई पक्रिएर प्रहरीको दायित्व पूरा हुँदैन । यो आन्दोलनका मुख्य निर्देशक भएको हिसाबले सिके राउतलाई नै कानूनी कारवाहीको भागीदार बनाउनु पर्छ । विगतमा देशद्रोही हर्कत गरेर पनि सहजै उन्मुक्ती पाएका राउतले पटक–पटक उन्मुक्ती पाइरहनु हुँदैन ।