कालीगण्डकी नदीको बहावले चट्टान काटेर भ्वाङ पर्दा पाल्पाको पर्यटकीय क्षेत्र रहेको रानीमहल जोखिममा परेको छ । रानीमहलको जगतर्फको चट्टानमा आउने पानीलाई छलेर अन्यत्र नपठाए समस्या उत्पन्न हुने देखिएको छ । जग कटान गर्दा रानीमहलको छेउतर्फको भाग भासिएको हो । समयमा मर्मत नगरे रानीमहल नै जोखिममा पर्ने सम्भावना बढेर गएको छ ।

तीन वर्षअघि गोताखोरको टोली बोलाएर पानीले कटान गरेको भ्वाङको अवस्थाबारे अध्ययन गरेको थियो । रानीमहलको जग करिब ५ मिटर कटान गरिसकेको गोताखोरको टोलीले बताएको थियो । तर, आजसम्म नदीको पानी रोकथाम नगर्दा थप समस्या सिर्जना भएको छ । यसको मर्मतका लागि संघीय सरकारबाट १ करोड बजेट विनियोजन भएको छ । तर, अझै काम सुरु हुन नसक्दा कालीगण्डकी किनारमा अवस्थित रानीमहल दरबारमा थप जोखिम बढेको हो । रानीमहल क्षेत्रमा देखिएको समस्या समाधानमा बजेट प्रयाप्त भएपनि कामले गति लिन नसकेको पाल्पाका संघीय सांसद ठाकुर गैरे बताउछन् ।

पाल्पाको पर्यटकीय क्षेत्रका रुपमा पहिचान बोकेको रानीमहलले वार्षिक ५० लाखभन्दा बढी राजश्व संकलन गर्दै आएको छ । तानसेन नगरपालिकाले मर्मतसंभारमा ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यहाँ संकलन गरेको राजश्वले रानीमहलको मर्मतमै खर्चिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय