
काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक गरेको हो ।
अन्तिम मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।



उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कुल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा– २ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । आयोगले नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ उम्मेदवार थिए ।