रवि लामिछानेलाई बयानको लागि चितवन ल्याइयो चितवन, मंसिर १८ सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकील कार्यालयमा लगिएको छ। लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएर आज ११:४० बजेको समयमा बयान का लागि सरकारी वकील कार्यालय उपस्थिति गराइएको हो ।
साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याइएको थियो । तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप छ । प्रहरीले उनीमाथि सम्पती शुद्धिकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिएको बताए। चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो