नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी र बेटिङ खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार दुई जना र मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो।
सीआईबीका एआईजी दीपक थापाका अनुसार सोमबार पक्राउ परेका व्यक्तिहरू भारतीय नागरिक सुमन घोस् र अमित यादव हुन्। मंगलबार पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याउने तयारी भइरहेको र उनीहरूबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
सट्टेबाजी तथा बेटिङको गतिविधि नियन्त्रण गर्न सीआईबीले एक एसपीको नेतृत्वमा विशेष टोली परिचालन गरेको छ। एनपीएलजस्तो ठूला प्रतियोगितामा यस किसिमको गतिविधि भएपछि प्रहरी थप सतर्क भएर अनुसन्धान गरिरहेको छ।