काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले अन्तर्राष्ट्रिय अपाङ्ग दिवस २०८१ को अवसरमा अपाङ्गता भएका व्यक्तिलाई न्यानो सिरक (ब्ल्याङ्केट) वितरण गरेको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ वडा कार्यालय बाडभञ्ज्याङमा अपाङ्गता भएका व्यक्तिहरुबीच अन्तरक्रिया गर्दै न्यानो सिरक वितरण गरेको हो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिका भित्र रहेका शारिरिक अस्वस्थ्ता रहेका अपाङ्ग, आँखा नदेख्ने अपाङ्ग, बहिरा, अटिजम भएका व्यक्तिहरुलाई नगरपालिकाले विशेष व्यवस्था गर्दै कार्यक्रम संचालन गर्दै आएको छ । उहाँले नगरभित्र भएका अधिकांश अपाङ्गता भएका व्यक्तिहरुलाई उहाँहरुको आवश्यकता अनुसार सामान वितरण गरेको पनि जानकारी दिनुभयो । नगरपालिकाले अपाङ्गगता भएका व्यक्तिहरुको लागि सहयोग गर्नका लागि नगरमा अपाङ्गता सहायता कक्ष नै राखिसकेको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहजताको लागि नगरपालिकाले अन्य योजनाहरु अघि बढाएको र थप क्रियाकलाप गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १५ का वडा अध्यक्ष घनश्याम लुईटेलले अपाङ्गगता भएका व्यक्तिहरुको जीवन यापनमा केही सहयोग होस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमको तय वडाले राखेको बताउनु भयो । राज्यले नीतिमा सम्बोधन गरेर कार्यक्रम अघि बढाएर लाने र सोही अनुसार वडा नम्बर २ ले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको उल्लेख गर्नुभयो । वडाले अपाङ्गगता भएका व्यक्तिको मनोभाव र समय परिस्थिति बुझेर न्यानो सिरक बाढेकोले आगामी दिनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाको नीति अनुसार कार्यान्वयन गर्ने चरणमा वडा नम्बर दुईले यस्तो खालको कार्यक्रम आयोजना गरेको र जुन कार्यक्रमले जनताको जीवन यापनमा सहता पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले दिवस विभिन्न किसिमले मनाइन्छ, जाँडो मौसममा न्यानो सिरक लिएर जाँदा केही भएपनि आफ्नो आवश्यकता पुरा हुने बताउनु भयो । प्रमुख अर्यालले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सबैको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर दुईका कार्यबहाक वडा अध्यक्ष चन्द्रकुमार गिरी बस्नेतले शारिरिक अपाङ्गता भएका व्यक्तिले पनि साथ र सहयोग पाए धेरै काम गर्न सक्ने बताउनु भयो । उहाँले परिवारजनलाई अपाङ्गता भएका व्यक्तिहरुलाई बोझको रुपमा नलिई उनीहरुको हौसला बनि अघि बढ्नमा मद्दत गर्न आग्रह गर्नुभयो । उहाँले शारिरिक अपाङ्गता भएका व्यक्ति आफु कमजोर छु भनि नसोचि म पनि गर्नसक्छु भनेर अघि बढेमा असम्भव नभएको बताउनु भयो । उहाँले सरकारले अपाङ्गता भएका व्यक्तिको पहिचानको लागि परिचय पत्र दिएको र सोही परिचय–पत्रका आधारमा रातो र निलो कार्ड पाएका २७ जना व्यक्तिलाई न्यानो सिरक प्रदान गरिएको उल्लेख गर्नुभयो । बस्नेतले सहज जीवन यापनको लागि आफुलाई आवश्यक परेको सामान चाहिएमा वडामा आएर सम्पर्क राख्न पनि आग्रह गर्नुभयो ।