पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ स्थित जनहित बचत तथा ऋण सहकारी व्यवस्थापक बचतकर्ताको ५६ लाखभन्दा बढी रकम हिनामिना गरेर फरार भएका छन । बैँक वित्तीय संस्थाको पहुँचभन्दा निकै टाढा रहेका बचतकर्ताको रकम संस्थापकले हिनामिना गरेपछि उनीहरुको बिचल्ली भएको छ । पश्चिम नवलपरासीको दक्षिणी भेगमा बैंक वित्तीय संस्थाको सहज पहुँच छैन । त्यसैले स्थानीय मिलेर गाउँमै सहकारी संस्था खोले । २०७५ सालमा स्थापना भएको जनहित बचत तथा ऋण सहकारीमा बचत गरेका करिब ७ सय बचतकर्ताको ५६ लाख ८६ हजार ६ सय ३९ रुपैयाँ अपचलन गरेर संस्थाका व्यवस्थापक अविनासकुमार कुशवाह र सञ्चालक समितिका केही सदस्य फरार भए । सहकारीका व्यवस्थापक र सञ्चालक नै सम्पर्कविहीन भएपछि आफूहरुले खाइ नखाइ जम्मा गरेको बचत फिर्ता नहुने बचतकर्तालाई चिन्ता छ ।
बचतकर्ताको उजुरीका आधारमा गाउँपालिकाले वडा नम्बर १ का अध्यक्ष महेन्द्रबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्यो । समितिले अध्ययनको क्रममा सहकारीले बचतकर्ताको रकम र ऋण प्रवाहको अधिकांश रेकर्ड नराखेको, ऋण प्रवाहमा धितो नराख्ने र नगदी रसिद मात्र काट्ने गरेको भेटिएको छ । जसमा व्यवस्थापक अविनासकुमार एक्लैले ५२ लाख र बाँकी रकम संस्थाका अन्य पदाधिकारीले फिर्ता नगरी अपचलन गरेको उल्लेख छ ।
अहिलेसम्म साधारणसभा नगरेको सहकारीले ०७५ सालमा स्थापना भएयता एक पटक मात्र लेखा परीक्षण गरेको छ । छानबिनमा १० हजार रुपैयाँ मात्र नगद मौज्दात भेटिएको छ । छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरी रकम अपचलनमा संलग्न सात जनालाई कारवाही र आफ्नो बचत फिर्ता गराइदिन पीडितले माग गरेका छन् ।