
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले लैङ्गिक हिंसाविरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रत्येक वर्ष २५ नोभेम्बरबाट सुरु हुने यो अभियान १० डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवसम्म मनाइने गरिन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन थालिएको थियो भने चन्द्रागिरि नगरपालिकामा वि.सं. २०७५ साल देखि यो अभियान मनाउन थालिएको हो । नगरपालिकाले विभिन्न दिवसीय कार्यक्रमहरु मनाउने क्रममा १६ दिने अभियान अन्तरगत र्याली, सचेतना मूलक कार्यक्रम, अन्तरक्रियालगायतका गतिविधि गरेर मनाउने गरिएको छ ।



प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक किरण सापकोटाले अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसाको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले लैङ्गिक हिंसा अन्तरगतका अपराधहरुमा महिला तथा बालिबालिका हिंसा, घरेलु हिंसा, मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी-उद्योगसम्बन्धी अपराध, तेजाब प्रयोग सम्बन्धी अपराध, आत्महत्या दुरुत्साहन, बोक्सा-बोक्सीको आरोप, बालविवाह, बहुविवाहलगायत रहेको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिकामा जवरजस्ति करणीमा आ.व. २०७८-०७९ ८ जना, आ.व. २०७९-०८० मा ३ जना, आ.ब.२०८०-०८१ मा २० जना र आ.व. २०८१-८२ मा १२ जना रहेको बताउनु भयो । आ.व. २०७८-०७९ मा बहुविवाह ७ जना, आ.व. २०७९-०८० मा २ जना, आ.ब.२०८०-०८१ मा ३ जना र आ.व. २०८१-0८२ मा शून्य रहेको बताउनु भयो ।
त्यस्तै बाल यौन दुरुपयोग आ.व. २०७८-०७९ मा ८ जना, आ.ब.२०७९-०८० मा ७ जना र आ.व. २०८०-८१ मा ३ र २०८१-०८२ मा शून्य रहेको उल्लेख गर्नुभयो । बालविवाह, जातीय भेदभाव तथा छुवाछुत शून्य नै रहेको बताउनु भयो ।
यसैगरी घरेलु हिंसा सम्बन्धी प्रहरी वृत्त थानकोटमा आ.ब. २०८१-८२ साउन महिना देखि मंसिर १५ गतेसम्म उजुरी पर्न आएको संख्या १५ रहेपनि मिलापत्र भएको जानकारी गराउनु भयो ।
कार्यक्रममा कार्यबहाक वडा अध्यक्ष भुवन केसीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरेको बताउनु भयो । उहाँले महिला हिंसालाई मात्र लैङ्गिक हिंसा भन्न नमिल्ने समाजमा विभिन्न प्रकारका हिंसा हुने गरेकोले ति सबै लैङ्गिक हिंसा अन्तरगत पर्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो घर वरपर त्यस्ता गतिविधि देखिएमा वडा कार्यालयमा आएर जानकारी गराउन पनि आग्रह गर्नुभयो ।