काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको शहीद स्मृति प्रकृति प्रतिष्ठान (थानकोटको त्रिभुवन पार्क) ले आफ्नो अस्थित्व गुमाएको धेरै वर्ष भइसक्यो । कुनै बेला यो पार्क थानकोटको त्रिभुवन पार्कको नामले चर्चित थियो । यसको आफ्नो छुट्टै पहिचान थियो । अहिले यो पार्क नाम मात्रको पार्क भएको छ । जता हेर्यो त्यतै पार्क लथालिंग भताभुङ्ग अवस्थामा छ ।

लामो समयदेखि आफ्नो अस्थित्व गुमाएको शहीद स्मृति प्रकृति प्रतिष्ठान (थानकोट पार्क) ले अब आफ्नो पहिचान बनाउँछ कि भन्नेमा केही आशा पलाएको देखिन्छ । चन्द्रागिरि नगरपालिकाका मेयर, उपमेयर, प्रवक्ता, नगरपालिकाका सम्बन्धित शाखाका संयोजक, वडाअध्यक्षहरु, सदस्यहरु, कर्मचारीहरु र प्रतिष्ठानका पदाधिकारीहरुसहित ठूलो संख्यामा पार्कको अनुगमन गर्यो ।

अनुगमनको क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पार्क बनाउनको लागि धेरै ठाउँबाट प्रयास भएपनि कहि कतैबाट सम्भव नभएपछि अब नगरपालिकाले नै पार्क बनाउने बताउनु भयो । उहाँले पार्क व्यवस्थापनको लागि समपुरक बजेट १ करोड ५० लाख र नगरपालिकाको १ करोड ५० लाख गरेर ३ करोड बजेट रहेको बताउनु भयो । उहाँले उक्त रकम पार्कमा नयाँ संरचना भन्दा पनि भएका संरचनाको जिर्णोद्वार र शौन्दर्यताको लागि खर्च गरिने उल्लेख गर्नुभयो ।

त्यस्तै अवलोकनको क्रममा केही वर्ष अघि मात्र निर्माण भएको प्रदेशको ५० लाख र जिल्ला वन कार्यालयको २० लाख गरी ७० लाख रुपैयाँबाट गेट र गेटबाट शालिकसम्म जाने बाटोको बीच भागमा पानीको फोहोरा हान्ने ठाउँको निर्माण गरिएको थियो । उक्त पानीको फोहोरा हान्ने ठाउँ अनावश्यक बनाइएको, मान्छे हिड्ने ठाउँलाई साघुँरो बनाई विना प्लानिङ गरिएको कामले पैसामा सक्ने काम भएको भन्दै उक्त संरचना भत्काउन अनुगमनको क्रममा सुझाव दिएका थिए ।

पार्क लथालिंग अवस्थामा पुगेपछि मन्त्री, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र प्रदेश सांसदहरुले देखाएका तदारुकताले पार्क अब पहिलाकै अवस्थामा पुग्छ भन्ने स्थानीयको आशा निराशामा परिणत हँुदै गयो । पार्क निर्माणको लागि दबाब दिने उद्देश्य प्रदेश सांसदकै नेतृत्वमा तदर्थ समिति पनि नबनेको भने होइन । त्यो समितिले केही पहल गरेपनि निचोडमा भने पुराउन सकेन । स्थानीय निकायका जनप्रतिनिधिको यो अवलोकनले पक्कै पनि पार्कको मुहार फेरिन्छ कि भन्नेमा आशा पलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय