काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रका सात गाउँमा हरेक वर्ष मनाइने परम्परागत सातगाउँले जात्रा (नेपाल भाषामा बखुमद न्हय्गाँ) यस वर्ष पनि धूमधामका साथ शुरू भएको छ। कीर्तिपुर दरबार क्षेत्रसँगै मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा, र नगाउँमा यो जात्रा मनाउने परम्परा छ।
सातगाउँले जात्रा काठमाण्डौ उपत्यकाका पौराणिक शक्तिपीठहरूसँग सम्बन्धित छ। बल्खुकी विष्णुदेवीलाई आमा र अन्य शक्तिपीठ र भैरवलाई सन्तान मान्ने परम्पराअनुसार, हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन यी गाउँबाट बाजागाजा र रथयात्रासहित विष्णुदेवी मन्दिरमा दर्शन गर्न जाने गरिन्छ।
आज कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारीको रथयात्रा आयोजना गरिएको छ। जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिनुभयो।
यस्तै, चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरूमा पनि आज बिदा दिइएको छ। नगरप्रवक्ता कृष्णप्रसाद खड्कीका अनुसार चन्द्रागिरिको वडा नम्बर ८, ९, १०, ११, १३, १४, र १५ मा आज बिदा दिइएको छ। साथै, वडा नम्बर १० र ११ मा मङ्सिर २७ गते पनि बिदा हुने जानकारी गराइएको छ।
जात्रामा सहभागी हुने गाउँका गुठियार र स्थानीयले बाजागाजा, रथयात्रा, र परम्परागत सांस्कृतिक गतिविधिहरूको आयोजना गर्ने प्रचलन छ। यो जात्रा शक्तिपीठहरू बीचको एकता र सांस्कृतिक परम्पराको प्रतीक मानिन्छ।