काठमाडौं, मंसिर २६ – नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच दुई ठूला परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँ (१५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

बुधबार अर्थ मन्त्रालयमा सम्पन्न हस्ताक्षर कार्यक्रममा अर्थसचिव रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यी परियोजनाहरू यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) हुन्।

यान्त्रिक सिँचाइ परियोजना

मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागू गरिने यस परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड रुपैयाँ (११० मिलियन अमेरिकी डलर) ऋण र २ अर्ब रुपैयाँ (१५ मिलियन अमेरिकी डलर) अनुदान उपलब्ध गराउनेछ।

परियोजनामा उन्नत सिँचाइ प्रविधि कार्यान्वयन गरी किसानले ‘प्रिपेड कार्ड’मार्फत आवश्यकता अनुसार पानीको उपयोग गर्न सक्ने सुविधा प्रदान गरिनेछ।

यसबाट १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास गरिएको छ। परियोजनाले कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता, र खाद्य सुरक्षा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना

कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रका समुदायलाई जलवायु परिवर्तनका असरहरूप्रति प्रतिरोधी बनाउन यो परियोजना सञ्चालन गरिनेछ।

यसका लागि एडीबीले १ अर्ब ३५ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) ऋण र २ अर्ब ९७ करोड रुपैयाँ (२२ मिलियन अमेरिकी डलर) अनुदान उपलब्ध गराउने छ।

परियोजनाले खानेपानीको समस्या समाधान, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन, र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन तथा कृषि वन व्यवस्थापनमा सशक्त बनाउने उद्देश्य राखेको छ।

अधिकारीको धारणा

सम्झौतापछि अर्थसचिव घिमिरेले यस्ता परियोजनाहरूले नेपालमा उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनमार्फत खाद्य सुरक्षा र जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए।

एडीबीका देशीय निर्देशक कोश्वाले जलवायु अनुकूलन, कृषि उत्पादकत्व, र जल सुरक्षा क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यी परियोजना नेपालका लागि दिगो विकासका कोसेढुंगा सावित हुने बताए।

यी परियोजनाहरूले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न र ग्रामीण समुदायको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय