विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले हराउँदै प्लेअफको झिनो सम्भावना कायम राखेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो। बसिर अहमदले अविजित ६८ रन बनाउँदै अर्धशतक प्रहार गरे। मार्टिन गप्टिलले ४५ रन बनाए भने राजेश पुलामीले अविजित ३३ रनको योगदान दिए।

१८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो। चितवनका अमर सिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने बसिरले १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिए।

यो जितसँगै ६ खेलबाट ४ अंक जोडेको विराटनगरले प्लेअफको सम्भावना जीवित राखेको छ। चितवनले भने आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग जित हासिल गर्नैपर्ने दबाब खेपिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय