दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई हैदराबादमा चलचित्र ‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको ज्यान गएको घटनामा १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ। हैदराबाद प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गरेर अदालतमा पेस गरेको थियो। अदालतले उनलाई चंचलगुडा कारागार पठाएको छ।
सो घटनामा अल्लु अर्जुनमाथि डिसेम्बर ४ मा सन्ध्या थिएटरमा प्रिमियरमा बिना जानकारी आउनाले भीडको संख्या अत्यधिक बढेको र अटोग्राफ लिनको लागि झडप भएको आरोप छ। झडपको कारण भागदौड मच्चिएको थियो, जसमा धेरै घाइते भएका थिए र एक महिलाको मृत्यु भएको थियो।
यस प्रकरणमा सन्ध्या थिएटरको व्यवस्थापक, अल्लु अर्जुन र उनका सुरक्षा टोलीसँगै ७ जनालाई पक्राउ गरिएको छ। यद्यपि, पीडित परिवारले घटनापछि अर्जुनसँग भेटेर २५ लाख रूपैयाँ सहयोगको आश्वासन प्राप्त गरेको छ। उक्त परिवारले अब मुद्दा फिर्ता लिन तयार रहेको बताएको छ।
अल्लु अर्जुनले पनि पीडित परिवारसँग शोक व्यक्त गर्दै आफूमाथिको आरोप खारेज गर्न उच्च अदालतमा अपिल दायर गरेका छन्।