काठमाडौं । विश्व बैंकले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपैयाँ) को सहायता अनुमोदन गरेको छ । बैंकका कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार यो रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो ।
विश्व बैंकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका तीन वटा विकास नीति सञ्चालन कार्यक्रमको श्रृंखलामा यो दोस्रो हो ।
यो सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गर्छ ।