काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्नेछन् । प्लेअफ सम्भावनालाई जीवित राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ ।
अंक तालिकामा काठमाण्डु पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जित निकालेका दुवै टिमको समान ४–४ अंक छ ।
पोखराविरूद्धको खेलमा जित निकाल्न सके काठमाण्डुको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ । उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ ।
दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ । तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण हुनेछ । उसको यो अन्तिम खेल हो ।