
रुपन्देही, माघ २९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीप्रति जनताको विश्वास र समर्थन लगातार बढ्दै गएको दाबी गरेका छन्। रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टीको समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय आफू जहाँ गए पनि “जिन्दावाद” को नारा लागेको बताए।



“जनताले मनमनै फैसला गरिसकेका छन् कि परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र हो। जनताले हाम्रो पार्टीप्रति जुन भरोसा राखेका छन्, त्यसलाई तोड्न दिनेछैनौँ,” उनले भने।
माओवादीको उपलब्धिको चर्चा
प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, र आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे। उनले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि ऐन ल्याएको, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा ल्याउने पहल गरेको, र छिमेकी मुलुकहरूसँग दीर्घकालीन फाइदाका सम्झौताहरू गरेको चर्चा गरे।
उनले भने, “भ्रष्टाचारविरुद्धको अभियानमा म प्रत्यक्ष रूपमा अगाडि देखिएको छु। जनताको हकहितका लागि हाम्रो सरकारबाट आर्थिक सुधार र सामाजिक न्यायका कामहरू अघि बढाइएका छन्।”
उपनिर्वाचनले देखाएको संकेत
हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजालाई उनले माओवादीप्रति जनताको बढ्दो समर्थनको प्रमाणका रूपमा प्रस्तुत गरे। “उपनिर्वाचनले देखाइसकेको छ, को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा बढेको छ। हामी २०८४ को निर्वाचनमा २०६४ सालको जनमत झल्काउने गरी अघि बढ्दै छौँ,” प्रचण्डले भने।
दुष्प्रचारको खण्डन
उनले केही मिडियाले माओवादी केन्द्रलाई कमजोर बनाउने नियोजित प्रयास गरेको आरोप लगाउँदै, “माओवादी सिद्धिने दुष्प्रचार भयो, तर परिणाम ठीक उल्टो छ। माओवादी अझ सशक्त भएर अघि बढिरहेको छ,” भने।
प्रचण्डले पार्टीप्रति जनताको बढ्दो विश्वासलाई आगामी निर्वाचनसम्म कायम राख्दै माओवादी केन्द्रलाई पुनः जनताको पहिलो रोजाइ बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।