लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर किङ्सलाई हराउँदै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग एनपिएलको सम्भावना जिवितै राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न पहिलो खेलमा काठमाडौंले प्रतियोगिताबाट बाहिरीसकेको विराटनगरलाई एक विकेटले हराएको हो । विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो। खराब सुरुवात गरेको काठमाडौंले पावर प्लेमै ५ विकेट गुमाउँदा ३९ रन जोडेर दयनीय स्थितिमा पुग्यो । तर छैटौं विकेटका लागि प्रतिक श्रेष्ठ र रासिद खानले ३७ रनको साझेदारी गर्दै काठमाडौंलाई खेलमा फर्काए ।

रासिद १४ र प्रतिकले सर्वाधिक ३९ रन बनाउँदा तल्लो क्रमका शंकर राना र दिपेश कँडेलले काठमाडौंलाई जितसम्म पुर्‍याए । शंकरले नटआउट १६ रन बनाउँदा दिपेशले १९औं ओभरको पहिलो बलमा सुवास भण्डारीलाई चौका प्रहार गरेपछि काठमाडौंले रोमाञ्चक जित निकाल्यो । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २(२ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर निर्धारित ओभर सकिन एक बल बाँकी छँदा ११७ रनमा अलआउट भयो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे ।

त्यस्तै ओपनर दिपक बोहोराले २० र स्कट एडवार्डसले १५ रन बनाए । विराटनगरलाई सस्तैमा रोक्न जेहार्ड एरास्मसले ३, दिपेशले २ विकेट लिए । डान डाउथवेट, करण केसी र शाहब आलमले १(१ विकेट लिए । जितसँगै काठमाडौंले ७ खेलबाट ८ अंक जोड्दै प्लेअफमा पुग्ने गणीतिय सम्भावना कायम राखेको छ । अब सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सको नतिजाले काठमाडौंको यात्रा टुङ्गो लाग्ने छ । आजको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भईरहेको छ । पोखराले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । पोखरा यसअघिनै प्रतियोगिताबाट बाहिरीसकेको छ भने सुदूरपश्चिम भने शीर्ष दुईमा रहँदै क्वालिफायर्स पुग्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय