
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ । रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ ।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजनमा सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ । सूर्यदर्शनको १ अर्ब ११ करोड अपचलन भएकोमा साढे १० करोड गोर्खा मिडिया ग्रुपमा आएको महानगरपालिका र संसदीय विषेश छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये १ करोड रुपैंयाँ लामिछानेको नामबाट आएको उल्लेख छ ।



सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थुनछेक बहस हुनेछ । जसले लामिछानेसहितका आरोपीलाई थुना बाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन् ।
सोही प्रकरणको पुरक मुद्दाका लागि पूर्वडीआइजी जोशीलाई गत असोज ६ र रास्वपा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ ।