काठमाडौं । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गर्न प्रविबन्ध लगाएको छ । त्यसो गरेमा कारबाही हुने चेतावनी दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गरेर यस्ता तस्विर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको हो ।
सार्वजनिक स्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो प्राप्त भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिने भन्दै यस्तो गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।
‘सार्वजनिक स्थलमा गरिएका भद्दा ख्याल ठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय प्रांकका नाममा मानिसहरुलाई दुख दिने मात्र नभई गोपनीयता समेत उल्लंघन गर्ने कार्य मौलाइरहेको छ । कतिपयले प्रांक भन्दै अश्लिल भिडियो समेत बनाएर युट्यूवमा पोष्ट गर्ने गरेका छन् । पहिलोपटक गृह मन्त्रालयले यस्तो गतिविधि रोक्न सार्वजनिक चेतावनी दिएको हो ।