
कुनै समय चर्चाको शिखरमा रहेको बालमन्दिर जग्गा प्रकरण अहिले सेलाएको छ । २०८१ साल वैशाखमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपनि यसमा थप प्रगति देखिएको छैन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निवेदनमा अदालतले बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म कुनै पनि आरोपी पक्राउ परेका छैनन् ।
बालमन्दिर जग्गा काण्ड कहिले चर्चामा छ । तर अहिले के भइरहेको छ कसैलाई यादै छैन । २०८१ साल वैशाखमा जिल्ला अदालत काठमाडौंले बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्यो, तर अहिलेसम्म कसैलाई छुन पनि सकेको छैन ।



के थियो प्रकरण ?
बालमन्दिरले आफ्नो नक्सालस्थित २८ रोपनीभन्दा बढी जग्गा सस्तोमा बृहस्पति विद्या सदन स्कुललाई भाडामा दिएको थियो । सम्झौता अझ अनौठो ! भाडाको समय बाँकी रहँदै झनै थप ३८ वर्षका लागि लिज बढाइदियो । अहिले यो लिज सिध्याउनुपर्ने बेला २१२७ सम्म बृहस्पतिले मज्जाले उपयोग गर्न पाउने भयो । अनि, बालमन्दिरले सीआईबीमा मुद्दा दर्ता गर्यो । पक्राउ पुर्जी निकालियो, तर त्यसपछि के भयो त ? ‘अनुसन्धान जारी छ’ भनेर सीआईबीले भन्दाभन्दै कुरा सेलायो । अहिलेसम्म त्यसको प्रगति के छ कसैलाई थाहा छैन ।
यो विवादमा बालमन्दिरका ‘अगुवा’ रीता सिंह वैद्यसहित तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशदत्त श्रेष्ठ, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठदेखि लिज सम्झौतामा सक्रिय अन्य २० जनाको नाम आएको छ । आरोप के हो भने मिलेमतो गरेर बालमन्दिरको जग्गा कौडिको भाउमा बृहस्पति स्कुललाई बुझाइदिएको छ ।
बालमन्दिरको यो जग्गा २०४९ सालदेखि भाडामा दिन थालियो । सुरुमा ९ रोपनीमात्र दिइएको जग्गा बिस्तारै बढ्दै २८ रोपनी ५ आना १ पैसा पुग्यो । यो क्रम २०७२ सम्म जारी रह्यो । अझ मुख्य कुरा के भने, २०५९ को सम्झौता अनुसार बृहस्पतिले २०८९ सम्म मात्रै जग्गा प्रयोग गर्न पाउने थियो । तर, सम्झौता अवधि १७ वर्ष बाँकी छँदै २०७२ मा पुनः ३८ वर्ष थप गरेर आश्चर्य गराइदियो । २८ रोपनी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ सुन्दा ठूलो रकम हो जस्तो लाग्छ, तर त्यो ठाउँको बजार भाउ हेर्दा यो त केही पनि होइन । अझ रोचक त के छ भने, बृहस्पतिले आफूले भाडामा लिएको ५ रोपनी जग्गा अर्कै स्कुललाई फेरि भाडामा दिएको छ ।
२०७६ सालमै यो प्रकरण छानबिन गर्न सरकारले हरिबाबु भट्टराईको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । त्यसले पनि बालमन्दिरकै नेतृत्वले अनियमितता गरेको ठहर गर्यो । तर, त्यसपछि के भयो ? ‘बाघले खाइदियो’ जस्तो अवस्था छ । पक्राउ पुर्जी निकालियो, तर कोही पनि समातिएनन् ।
अब के हुन्छ त ?
पक्राउ पुर्जी जारी भएको वर्षौं भइसक्यो, तर दोषी अझै खुला घुम्दैछन् । अनुसन्धान अघि बढिरहेको दाबी गरिए पनि ठोस प्रगति देखिँदैन । यस्तो अवस्थामा प्रश्न उठ्छ बालमन्दिरको यो ऐतिहासिक सम्पत्ति फिर्ता ल्याउन सकिन्छ त ? कि यो काण्ड पनि अरू दर्जनौं काण्डझैं सेलाएर बिलाउने हो ? बालमन्दिर जग्गा काण्डले देशको कानुनी प्रक्रिया र अनुसन्धान प्रणालीलाई नै कठघरामा ल्याएको छ । ठूला नाम चलेका व्यक्तिहरूको मिलेमतोमा भएको यो प्रकरणमा अझै न्याय हुने अपेक्षा धूमिल हुँदैछ । जनता भने यो देशमा शक्तिशालीमाथि कहिले कारबाही होला ? भनेर पर्खिरहेका छन् ।