
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका ८ र १२ नम्बर वडा जोड्ने गरी पुल निर्माणको काम थालिएको हो ।
तीनमुखे पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताउनु भयो । उहाँले पुल निर्माणको लागि पर्याप्त बजेट भएकोले योजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।



सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा निर्माण हुन लागेको पुल नेपालकै सबैभन्दा लामो तीनमुखे पुल भएको बताउनु भयो ।
१ दशमलव ६० मिटर चौडाई र ६५४ दशमलव ६० मिटर लम्बाईको पुल २०८३ असारभित्र सम्पन्न गरिसक्नु पर्नेछ भने टावरको उचाइ २५.२३ मिटरको हुनेछ । २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा निर्माण हुन लागेको पुल श्री गीता कन्स्ट्रक्सनले पाएको छ ।
पुल निर्माणका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो ।