काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टरः टेक वन’ का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्राण्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।
एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् । एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ । पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदीप खड्का चलचित्रको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ । मुख्य पात्रको चोट लागेको अनुहारले यस चलचित्रको कथाको चुनौतीपूर्ण पक्षलाई संकेत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको संकेत गर्छ । यसअघि यो चलचित्रको टिजरमा सुपरस्टार प्रदीप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो ।



यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।
यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् । कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।





