
तिब्बतको सिगात्से क्षेत्रको दिंगे काउन्टी केन्द्रविन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। चाङ्गसुओ क्षेत्रका गाउँहरूमा घरहरू भत्किएका छन्, र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाइएको छ।
भूकम्प आज बिहान ६:५० बजे गएको हो, जसको धक्का नेपालसहित छिमेकी क्षेत्रहरूमा समेत महशुस गरिएको थियो। नेपालमा काठमाडौं, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, र दोलखामा ठूलो धक्का महसुस भएको जनाइएको छ।



भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। नेपालका खानी तथा भूगर्भ विभागले भूकम्पको केन्द्रविन्दु दिंगे र नेपालतर्फ लीबुचेको दूरी ९० किलोमिटर रहेको जनाएको छ। विभागले ठूलो भूकम्पपछि पराकम्पन आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।
हालैका दिनमा पश्चिम नेपालमा पनि निरन्तर साना भूकम्पहरू गइरहेका कारण भूगर्भीय सक्रियता बढ्दै गएको संकेत देखिएको छ।