
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बीच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ ।



युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको कार्यक्रममा सरकारले मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ । कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा दोस्रो भएको भएको टोलीलाई सम्मान गरिएको हो । टोलीका खेलाडीलाई ३ लाख, प्रशिक्षक तामाङलाई २ लाख, सहायक प्रशिक्षक विनोद डंगोल र भगवती थापालाई समान ६० हजार तथा व्यवस्थापक वृन्दा देवान र फिजियो नवीना श्रेष्ठले समान १ लाख २० रुपैयाँ प्राप्त गर्नुभयो । फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
चीनको हाइजाओमा असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराते च्याप्यियनसिपको रजत पदक विजेता एरिका गुरुङलाई ६ लाख , मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ८० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काभा बिच महिला भलिबल प्रतियोगिताका स्वर्ण पदक विजेता कमला पुन, मनिषकुमारी चौधरीलाई ५ लाख तथा प्रशिक्षक रुपेशकुमार विष्टलाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरियो । सोही प्रतियोगिता रजत पदक विजेता मानबहादुर श्रेष्ठ र दिल सुनारले समान ३ लाख रुपैयाँ पुरस्कार पाउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरुको विवरण चाँडो पठाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।