तराई–मधेश क्षेत्रमा निरन्तर हुस्सु र कुहिरोका कारण चिसो बढ्दै जाँदा जनजीवन कष्टकर बनेको छ। चिसो स्याँठले मानिसहरूलाई घर बाहिर निस्कनसमेत समस्या परिरहेको छ भने तापक्रम घट्न थालेपछि चिसोको प्रभाव अझै तीव्र बनेको छ।

चिसोका कारण वीरगञ्ज महानगरले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि पर्सागढी नगरपालिकाले पुस २२ देखि माघ १ गतेसम्म सामुदायिक तथा निजी विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको थियो। रौतहटको गौर नगरपालिकाले पनि चिसोले बालबालिकामा समस्या पारेपछि तीन दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ।

चिसोले विपन्न र गरिब परिवारलाई ठूलो समस्या पारेपछि जिल्ला विपत् व्यवस्थापन समितिहरूले राहतको व्यवस्था गर्न थालेका छन्। टोलटोलमा आगो बाल्न दाउरा वितरण गर्नेदेखि लिएर न्यानो कपडा वितरणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले शीतलहरबाट प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने तयारी गरेको छ। यसैबीच, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा हुस्सुका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।

चिसोको कहरले मानव जीवनमा गम्भीर असर पुर्‍याएकोले राहत तथा सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय