कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेसीका किसानले परम्परागत उखु खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाउँदै खुदोलाई पोखराकै विशिष्ट ब्राण्ड बनाएका छन्। उखुको रस पकाएर बनाइने खुदोले स्थानीय किसानलाई आर्थिक लाभमात्र दिएको छैन, परम्परागत संस्कृति जोगाउन पनि मद्दत गरेको छ।

मालेपाटन र ढोडबेसीका करिब ८० परिवारले २ सय रोपनीमा उखु खेती गर्दै आएका छन्। पुस र माघे संक्रान्तिको अवसरमा खुदोको माग उच्च हुने भएकाले किसानहरू हाल व्यस्त छन्। विगतमा कोलमा गोरु घुमाएर उखुको रस निकाल्ने चलन थियो भने अहिले आधुनिक मेसिनले यो प्रक्रिया सहज बनाएको छ। पोखरा महानगरपालिकाको डेढ लाख रुपैयाँ सहयोग र स्थानीयको थप लगानीबाट बिजुलीबाट चल्ने कोल प्रयोगमा आएको छ।

गाउँमा वार्षिक १५ हजार लिटर खुदो उत्पादन हुने र लिटरको ३५० देखि ४०० रुपैयाँमा बिक्री हुने गरेको छ। पहिले बजारमा बिक्री गर्न कठिनाइ भए पनि हाल गाउँमै सबै खुदो बिक्री हुने गरेको किसानहरूले बताएका छन्।

तर, श्रम गर्ने युवाको अभावले उखु खेती गर्ने किसानको संख्या घट्दो छ। पोखरा महानगरले खुदोलाई ब्राण्डिङ गरेर उत्साह थपे पनि युवा श्रमिकको कमी भविष्यमा चुनौती बन्नसक्ने देखिएको छ। किसानहरूले यस क्षेत्रलाई कृषि पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने सम्भावना देखिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय