क्याथे प्यासिफिकको काठमाडौँ-हङकङ उडानमा बिरामी पर्ने यात्रुको संख्या बढेपछि हङकङको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी) ले विमानमा उपलब्ध गराइने चुकन्दर (बिटरुट) सलादमा प्रतिबन्ध लगाएको छ। बुधबारको उडानमा बिरामी परेका १० यात्रुमध्ये ९ जनाले बोर्डिङअघि एउटै टेकअवे खाना खाएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो। तर, टेकअवे खाना नखाएका यात्रु पनि बिरामी हुन थालेपछि सीएचपीले विमानमा आपूर्ति गरिने खानाको निरीक्षण थालेको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, उडानको समयमा थप ६ यात्रु बिरामी भएपछि इनफ्लाइट खानाको आपूर्ति प्रक्रिया जाँचिएको थियो। भण्डारण तापमान सही पाइए पनि चुकन्दर सलादमा धेरै म्यानुअल ह्यान्डलिङ प्रक्रियाले जोखिम बढाएको भन्दै यो सलादको आपूर्ति रोक्न निर्देशन दिइएको हो।

जम्मा ३६ यात्रुमध्ये २० जनाले बोर्डिङअघि टेकअवे खाना नखाएको पुष्टि भएपछि उडानकै खाना मुख्य शंकाको सूचीमा परेको हो। हाल, सीएचपीले उडानमा दिइएको खानाका नमुनाहरू परीक्षणका लागि संकलन गरेको छ। साथै, प्रभावित यात्रुलाई फलोअप र चिकित्सा निगरानीका लागि हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ। अनुसन्धान जारी छ, र यस प्रकरणले इनफ्लाइट खानाको सुरक्षा मापदण्डप्रति चासो बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय